भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरमा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो ।
मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सङ्कलन गर्ने काम सुरु गरिएको प्रशासनले जनाएको छ । यसैक्रममा राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएर मतगणना स्थलको निरीक्षण समेत गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । शुक्रबार साँझसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको प्रशासनले जनाएको छ ।