भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा तयारीले पूर्णता पाएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रको टुंगो, कर्मचारी व्यवस्थापन र सुरक्षा परिचालनको काम सकिएको मुख्य निर्वाचन अधिकृत नवराज दहालले जानकारी दिए । उनका अनुसार सबै मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी खटाइसकिएको छ ।

जिल्ला प्रशासनले सुरक्षित र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न विशेष सुरक्षा रणनीति लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मतदातालाई निडर भई मतदान गर्न आग्रह गर्दै जिल्लामा भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको बताए । सुरक्षालाई थप प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, कोलेनिका प्रमुख महेश दाहाल, सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेको नेतृत्वमा चार सिभिल सुरक्षा अनुगमन टोली गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीका अनुसार आवश्यक परेमा ती टोली तत्काल परिचालन हुनेछन् । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्लाका ३९ मतदान केन्द्रलाई सामान्य र ३७ केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ भने अति संवेदनशील केन्द्र नरहेको स्पष्ट गरिएको छ ।
यसैबीच, आचार संहिता अनुगमन समितिका संयोजक सुरेश आचार्यले राजनीतिक दलहरूले शान्तिपूर्ण र सभ्य ढंगले प्रचारप्रसार गरिरहेको र हालसम्म कुनै लिखित उजुरी नपरेको जानकारी दिए ।

निर्वाचनलाई सुव्यवस्थित बनाउन दुवै निर्वाचन क्षेत्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले बताए । नेपाल विद्युत प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा आयोजित कार्यक्रममा सम्बन्धित कर्मचारीहरूको सहभागिता रहेको थियो ।
