पार्टीमा आत्मनिरीक्षण र आत्मविश्वास पुनर्स्थापना गर्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड

पार्टीमा आत्मनिरीक्षण र आत्मविश्वास पुनर्स्थापना गर्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड

शनिवार, श्रावण २४ २०८२
शनिवार, श्रावण २४ २०८२
  • पार्टीमा आत्मनिरीक्षण र आत्मविश्वास पुनर्स्थापना गर्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड

    भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र शुद्धिकरण, आत्मनिरीक्षण र आत्मविश्वास पुनःस्थापना अपरिहार्य रहेको बताएका छन् ।

    भक्तपुरमा आज स्व. श्यामबहादुर कार्कीको १८औं स्मृति सभामा बोल्दै थापाले कांग्रेसले विगतलाई समीक्षा गरेर मात्र देशको नेतृत्व प्रभावकारी रूपमा गर्न सक्ने बताए । उनले आत्मविश्वास गुमाएको पार्टीले मुलुकको बागडोर सम्हाल्न नसक्ने उल्लेख गर्दै, मुलुकलाई चलाउने प्रमुख शक्ति कांग्रेस भएकाले यसको आन्तरिक सुदृढीकरण अपरिहार्य भएको बताए ।

    1.jpg

    उनका अनुसार अहिलेको राजनीतिक अवस्थाले नागरिकमा असन्तुष्टि र रोष बढाएको छ, जसबाट देशलाई निकास दिनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । चुनावमा हार्ने डरका कारण पार्टीभित्र राजनीति कमजोर बन्दै गएको भन्दै उनले अग्रज नेताहरूको मार्गनिर्देशनमा एकताबद्ध हुन नेता–कार्यकर्तालाई आह्वान गरे ।

    थापाले प्रतिबन्धको कालदेखि नै कांग्रेसको प्रभावशाली भूमिकाको चर्चा गर्दै, जित–हारलाई सामान्य रूपमा लिएर समस्याको सही पहिचान र समाधानमा केन्द्रित हुनुपर्ने बताए। साथै, युवाको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझेर अवसर सिर्जना गर्ने पक्षमा पनि जोड दिए ।

    कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले आगामी दिनमा कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग समेत राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने समय आएको उल्लेख गर्दै आफू एआई राजनीतिका लागि तयार रहेको धारणा राखे ।

    Gagan thapa    ph.jpg

    स्मृति सभामा कांग्रेस केन्द्रीय सदस्य तथा संघीय सांसद रमा कोईराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्रीहरू सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेश सांसद सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणा लगायतले स्व. कार्कीको योगदानबारे विचार व्यक्त गरे ।

    यस अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए भने स्व. श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुरराज कार्कीका अनुसार विद्यार्थीहरूलाई एक सय थान विद्यालय ब्याग, स्टेशनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij