चौथो पटक जिब्रो छेड्दै विरेन्द्रभक्त श्रेष्ठ: थिमिको परम्परागत जात्रालाई निरन्तरता

चौथो पटक जिब्रो छेड्दै विरेन्द्रभक्त श्रेष्ठ: थिमिको परम्परागत जात्रालाई निरन्तरता

मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • चौथो पटक जिब्रो छेड्दै विरेन्द्रभक्त श्रेष्ठ: थिमिको परम्परागत जात्रालाई निरन्तरता

    भक्तपुर । मध्यपुर थिमि बालकुमारीका ३८ वर्षीय विरेन्द्रभक्त श्रेष्ठले थिमिको ऐतिहासिक र लोपोन्मुख जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै यस वर्ष चौथो पटक जिब्रो छेड्न लागेका छन् ।

    यो परम्परा २०६३ सालदेखि रोकिएको थियो । ११ वर्षको अन्तरालपछि २०७४ मा वीरेंद्रभक्तकै अगुवाइमा यो जात्रा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेका थिए । यस वर्ष भाद्र शुक्ल पूर्णिमाको साँझ (भदौ २२ गते आइतबार), इन्द्रजात्राको भोलिपल्ट, उनी फेरि यो साहसिक परम्परामा सहभागी हुँदैछन् ।

    २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडेका थिए, तर त्यसपछि कोभिड–१९ का कारण जात्रा फेरि रोकिएको थियो । त्यसपछि २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिएका हुन् ।

    यो परम्परागत जात्रालाई अघिल्ला पुस्ताबाट निरन्तरता दिइँदै आएको इतिहास पनि छ । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा गरी तीनपटक जिब्रो छेडेका थिए ।

    बोडेमा मनाइने बिस्केट जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने परम्परा अहिलेसम्म निरन्तर चलिरहेको भए पनि थिमिको जिब्रो छेड्ने जात्रा भने आर्थिक अभावका कारण बेलाबेलामा रोकिँदै आएको छ ।

    महँगो जात्रा र एक व्यक्तिमाथि जिम्मेवारी

    थिमिको जिब्रो छेड्ने जात्रामा लाग्ने करिब ५ लाख रुपैयाँभन्दा बढीको खर्च जिब्रो छेड्ने व्यक्तिले नै व्यहोर्नुपर्ने परम्परा रहेको संरक्षण समिति संयोजक अर्जुन श्रेष्ठ बताउँछन् । उनका अनुसार जात्राको सम्पूर्ण तयारी, भोजदेखि नगर परिक्रमा र पूजाआजा समेत जिब्रो छेड्ने व्यक्तिको जिम्मामा हुने हुँदा निरन्तरता दिन कठिनाइ भएको हो ।

    किम्बदन्ती र धार्मिक परम्परा

    स्थानीय किम्बदन्तीअनुसार, थिमिमा भूतप्रेत र पिशाचहरूको आतंक नियन्त्रण गर्न प्राचीन समयमा एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो, त्यसपछि शान्ति स्थापना भएको विश्वास गरिन्छ ।

    वीरेन्द्रभक्तका अनुसार, जिब्रो छेड्नुअघि ८ दिनसम्म बालकुमारी मन्दिरमा पर्दाले ढाकेर विशेष पूजा (मु पूजा) गरिन्छ । सो अवधिमा एकछाक मात्र खान पाइन्छ, पशुपंक्षी छुन नहुने, र श्रीमतीको अनुहार पनि हेर्न नपाइने कडा नियमहरू छन् ।

    जात्राको ४ दिन अघिदेखि जिब्रो छेड्ने व्यक्तिले नगरवासीलाई भोज खुवाउनुपर्ने चलन छ । जात्राको दिन हनुमानढोका दरबारबाट ल्याइएको "राजाको चिनो" (खड्ग) प्राप्त भएपछि मात्रै जिब्रो छेड्ने परम्परा सुरु हुन्छ ।

    सियो, परिक्रमा र यामता

    भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रोमा छेडिन्छ । त्यसपछि, मानन्धर समुदायका सदस्यहरूले बाल्ने लामो तीनमुखे बत्ती (यामता) को साथ जिब्रो छेड्ने व्यक्ति नगर परिक्रमा गर्छन् ।

    परिक्रमा अन्त्य भएपछि बालकुमारी मन्दिरमै सियो निकालेर पूजा गरी मन्दिरको खम्बामा गाड्ने चलन छ । बालकुमारी मन्दिरका खम्बाहरूमा पहिले छेडिएका सयौं सियोहरू अझै देख्न सकिन्छ ।

    एकै वर्ष २७ जनाले छेडेका थिए जिब्रो

    स्थानीय प्रशिक्षक निरन्जन श्रेष्ठका अनुसार, इतिहासमा एकै वर्ष २७ जनाले जिब्रो छेडेको उदाहरण पनि छ ।

    प्वाल भएको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाउँदा घाउ चाँडै निको हुने र अन्य औषधि आवश्यक नपर्ने विश्वास गरिन्छ । जिब्रो छेडेपछि पनि जात्राको भोलिपल्ट दिनभर भोज खुवाउने परम्परा छ ।

    यस जात्राले नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगाउने जनविश्वास रहेको छ, र वीरेंद्रभक्त श्रेष्ठको निरन्तरताले यो संस्कृति बचाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij