भक्तपुर । मध्यपुर थिमीको मनोहरा फाँटमा नेपालका लागि नयाँ चरा प्रजाति 'साइबेरियन स्यान्ड प्लोभर' भेटिएको छ। यसलाई नेपालीमा ‘साइबेरियाली राजपुत्रिका’ नाम दिइएको छ।
यो चरा समुद्री सतहदेखि १,३१९ मिटर उचाइमा पहिलोपटक चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले अवलोकन गरेका थिए। उनीहरूले फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण पेश गरेका थिए।
कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीका अनुसार अन्तर्राष्ट्रिय पन्छीविद्सँगको परामर्श र विवरणको गहिरो अध्ययनपछि यसलाई नेपालका लागि नयाँ प्रजातिको रूपमा पुष्टि गरिएको हो।
साइबेरियाली राजपुत्रिकाको मूल वासस्थान साइबेरिया हो। यो बसाइँ सर्ने क्रममा चीन, जापान, कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया, हङकङ, मलेसिया, र टिमोरसम्म पुग्ने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन (IUCN) को रेड लिस्ट अनुसार यो चरा लोपोन्मुख प्रजातिमा पर्दछ।
यस नयाँ अभिलेखसँगै हालसम्म नेपालमा पाइएका चराको संख्या ९०२ पुगेको छ।