भक्तपुर । सूर्यविनायक नगर अस्पताल जगातीमा सोमबार आयोजित एक विशेष समारोहका बीच ५० सैयाको अस्पताल स्वीकृत अनुमति प्रमाण–पत्र हस्तान्तरण गरिएको छ । स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेश र सूर्यविनायक नगरपालिकाको समन्वयमा सम्पन्न सो कार्यक्रमले १५ सैयाको आधारभूत अस्पताललाई ५० सैयामा स्तरउन्नती गर्दै देशकै पहिलो '५० सैयाको नगर अस्पताल' को रुपमा पहिचान दिलाएको दावी गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्नो एक वर्षे कार्यकालमा स्वास्थ्य क्षेत्रमा गरेका सुधारहरूको फेहरिस्त सुनाउँदै सूर्यविनायकको यो उपलब्धिलाई ऐतिहासिक संज्ञा दिए। मन्त्री थापा पहिले वडा अध्यक्षको रूपमा समेत लोकप्रिय रहेका थियो, अहिले उनी भक्तपुरवासीका लागि आशाका किरणको रूपमा हेरिन्छन्।

नगर प्रमुख तथा कार्यक्रममा सभापतिको भूमिका निर्वाह गरेका मेयर वासुदेव थापाले हास्यव्यङ्ग्य शैलीमा अस्पताल सुधारका विषयमा धारणा राख्दै भने, 'अस्पताल राम्रो बनाउने सवालमा यदि जेल जानुप¥यो भने म तयार छु।' उनले छिट्टै ट्रमा सेन्टर पनि सञ्चालन गरिने जानकारी दिए।
अस्पतालका कार्यकारी निर्देशक डा. राकेश वर्माले अस्पतालको सञ्चालन प्रणाली, उपलब्ध सेवा–सुविधा र भविष्यका योजनाहरू प्रस्तुत गर्दै जनसंख्या करिब २ लाख भएको नगरमा दैनिक झण्डै २०० जनाले ओपीडी सेवा लिइरहेको जानकारी गराए। अनुभवी चिकित्सकका रूपमा परिचित वर्माले अस्पताललाई सेवा र संरचनाको हिसाबले अझ गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए।

वाग्मती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रादेशिक अस्पताल सुधारको अनुभव बाँड्दै, सचिव पदमा आएपछि अझ सक्रिय र सृजनशील भई प्रदेशभरका अस्पतालहरू सुधार गर्ने अभियानमा लागेको बताइन्।
नगर कार्यकारी अधिकृत युवराज आचार्यले संविधान २०७२ ले स्थानीय तहलाई स्वास्थ्य सेवा प्रवाहमा दिएको अधिकारबारे प्रकाश पार्दै, अब नगर तहमै गुणस्तरीय अस्पताल सम्भव भएको उल्लेख गरे।

नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले अस्पतालको संरचना र सरसफाइप्रति प्रशंसा गर्दै भनिन्, 'यो अस्पतालको गेटभित्र पस्दा आधा रोग निको हुने महसुस हुन्छ।'
कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख खगेश्वर गेलालले पनि अस्पतालको वर्तमान प्रगति र सम्भावनाप्रति सकारात्मक मन्तव्य दिँदै स्थानीय सरकारको सक्रियतालाई प्रशंसा गरे।
कार्यक्रमकाे सञ्चालन नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले गरेका थिए भने २ नं वडाका वडाध्यक्ष प्रदिप कार्कीले स्वागत मन्तब्य राखेका थिए ।
स्वास्थ्य क्षेत्रको विकासमा स्थानीय सरकारको नेतृत्वमा बनेको यस्तो मोडल अन्य नगरपालिकाहरूका लागि पनि प्रेरणादायी हुने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरे।
