स्वास्थ्य मन्त्री थापामगरद्वारा ख्वप अस्पतालको निरीक्षण : भक्तपुरलाई स्वास्थ्यको 'हब' बनाउने प्रतिबद्धता

स्वास्थ्य मन्त्री थापामगरद्वारा ख्वप अस्पतालको निरीक्षण : भक्तपुरलाई स्वास्थ्यको 'हब' बनाउने प्रतिबद्धता

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • स्वास्थ्य मन्त्री थापामगरद्वारा ख्वप अस्पतालको निरीक्षण : भक्तपुरलाई स्वास्थ्यको 'हब' बनाउने प्रतिबद्धता

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापामगरले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्याको ख्वप अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मन्त्री थापामगरले अस्पतालको पूर्वाधार, सेवा प्रवाह र उपचार प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिँदै सेवाग्राहीहरूसँग संवाद गरेका थिए ।

    निरीक्षणपछि आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री थापामगरले ख्वप अस्पताल प्रदेशभित्रकै उदाहरणीय स्वास्थ्य संस्था भएको उल्लेख गरे । उनले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको अस्पतालले देशैभरिका बिरामीलाई सेवा दिइरहेको र यसलाई अझ स्तरीय बनाउँदै लैजान प्रदेश सरकार सधैं साथमा रहने बताए ।

    4.jpg

    “भक्तपुर शिक्षा र स्वास्थ्यको क्षेत्रमा अग्रणी छ,” मन्त्री थापामगरले भने, “यसलाई अझ मजबुत बनाउन हामी सबैको सहकार्य आवश्यक छ। प्रदेश सरकारले सीमित स्रोतसाधनको भरपूर सदुपयोग गर्दै नागरिकलाई गुणस्तरीय, सस्तो र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिबद्ध छ ।”

    उनले प्रदेशअन्तर्गतका अस्पतालहरूमा आधारभूतदेखि विशिष्टिकृत सेवा विस्तार गर्दै लैजाने रणनीति अपनाइएको जानकारी पनि दिए । ख्वप अस्पतालमा भइरहेको सेवा, सुविधाहरू, आकस्मिक कक्ष, आईसीयू, अक्सिजन प्लान्ट, ल्याब र नर्सिङ कलेजजस्ता संरचनाको अवलोकनपछि मन्त्री थापामगरले अस्पतालले राम्रो काम गरिरहेको बताए ।

    1.jpg

    उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुरले देखाएको प्रगतिलाई अनुकरणीय भन्दै अन्य स्थानीय तहहरूले पनि यसबाट सिक्नुपर्ने उल्लेख गरे ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नगरबासीको भावनाअनुसार कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागिरहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

    ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आइरहेको अवगत गराउँदै भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सँगै श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताए ।

    2.jpg

    कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले ख्वप अस्पताललाई प्रदेशभित्रको नमुना अस्पतालको रुपमा चिनिनु गौरवको कुरा भएको बताइन् । उनले शिक्षा र स्वास्थ्यमा सहज पहुँच र गुणस्तर सुनिश्चित गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताइन् ।

    अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालको विगतदेखि हालसम्मको सेवा विस्तार र उपलब्धिबारे प्रस्तुतीकरण गरे ।

    वि.सं. २०३० मा स्थापना भएको जनस्वास्थ्य सेवा केन्द्र हाल १०० शैय्याको ख्वप अस्पतालका रूपमा ३६५ दिन ओपीडी सेवा दिँदै जनताको भरोसा जितिरहेको छ ।

    निरीक्षण टोलीमा विभिन्न स्वास्थ्य अधिकारी र चिकित्सकहरूको सहभागिता थियो, जसमा डा. खगेश्वर गेलाल, डा. रविन भुषाल, डा. सुरेन्द्र भट्ट, डा. रन्जित माकजु, डा. श्वेता झा, नारायण कार्की, रोशनी श्रेष्ठ र स्वेता मानन्धरलगायत थिए ।

    3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij