भक्तपुर । थिमिका साहित्यकार श्यामकाजी श्रेष्ठको कृति 'ऐतिहासिक नगरी थिमि : एक परिचय' सार्वजनिक भएको छ । शनिबार मध्यपुर करोत एकेडेमी, बप्पामा एक विशेष समारोहबीच श्रेष्ठको दोस्रो कृति विमोचन गरिएको हो ।
मध्यपुर प्रवर्द्धन समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका स्रष्टा, स्थानीय अगुवा, शिक्षा क्षेत्रका प्रतिनिधि र थिमीप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा संस्कृतिविद् गणेशराम लाछि, धर्म सुन्दर बज्राचार्य र नगरपालिकाका पूर्वप्रमुख मदन सुन्दर श्रेष्ठले यस्ता दस्तावेजी कृतिहरू थिमिको सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण रहेको धारणा राखे ।
कार्यक्रममा लेखक श्रेष्ठले नयाँ पुस्तामा थिमिको बारेमा चेतना फैलाउने उद्देश्यले पुस्तक लेखिएको बताए ।
पुस्तकमा मध्यपुर थिमिको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक सम्पदा, परम्परा, भाषा, वास्तुकला र सामाजिक जीवनशैलीबारे परिचयात्मक विवरण प्रस्तुत गरिएको छ ।
