चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजन

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजन

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजन

    भक्तपुर । चाँगुनारायण नगरपालिका–४ स्थित ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व रहेको चाँगुनारायण मन्दिरमा मंगलबार एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन् । 

    विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरमा मंगलबार हरिबोधिनी एकादशीको दिन चाँगुनारायण मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीको ठूलो घुइँचो लागेको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए ।

    मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बिहान ३ बजेदेखि नै मन्दिर खुला भएको र दर्शनार्थीको आगमन भएको बताउँदै मंगलबार रातिसम्ममा ५० हजारभन्दा बढी दर्शनार्थीले एकैदिन दर्शन गरेको जानकारी दिए ।

    चार नारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिने गरिन्छ ।

    आजको दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशंखुनारायणको दर्शन गर्ने गर्छन् । 

    आज चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्न सके उत्तम हुने र चार नारायणको दर्शन गर्न नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गरेपनि चार नारायणको दर्शन गरे बराबरको पुण्य प्राप्त हुने मान्यता छ । 

    आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रूपमा विशेष पूजा अर्चना गरेर मनाइन्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij