काठमाडौं । काभ्रेमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँ बस्ने ६९ वर्षीया माइली लामाको हत्या गरेको आरोपमा उनका २८ वर्षीय छोरा फुर्साङ लामालाई पक्राउ गरेको हो ।
कात्तिक १६ गते अपराह्न सवा ४ बजे माइली आफ्नो घरको भान्सामा मृत भेटिएकी थिइन् ।
उनी मृत फेला परेको खबरपछि इलाका प्रहरी कार्यालय मंगलटार र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट टोली खटिएर अनुसन्धान अघि बढाएको थियो ।
तालिम प्राप्त कुकुर पनि खटाएर अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले तत्कालै मृतकका कान्छा छोरा फुर्साङलाई पक्राउ गरी सोधपुछ थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।
फुर्साङले कोठामा सुतिरहेकी आमाको सुनको रिङ र नगदको लोभले सिलौटोले हानेर अचेत बनाएको प्रहरीले जनाएको छ ।
अचेत बनेकी आमालाई पुन: आग्लो प्रहार गरी हत्या गरेको आरोप उनीमाथि छ । घटनापछि उनी सुनको रिङ र नगद लिएर फरार भएका थिए । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।