नेपालगञ्ज । बाँकेमा झाडापखाला लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको हो ।
\जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार, परीक्षणमा हैजाको जीवाणु देखिएको छैन । खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले उनको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।