काठमाडौं । बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराउँदै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे ।
दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरेका हुन् ।
नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्यो ।
नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन ।