म्याग्दी । बाढीपहिरोले क्षतिग्रस्त बनेको चीन जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र पारिएको छ। म्याग्दी खण्डका विभिन्न ठाउँमा सडक कटान र पहिरोले अवरुद्ध सडक खुलाउन डोजर, टिपर, लोडरसहित जनशक्ति परिचालन गरिएको छ।
असोज दोस्रो साताको भारी वर्षापछि दुई सय दुई किलोमिटर लामो सडकखण्डको ५० भन्दा बढी ठाउँमा अवरोध भएको थियो। तीमध्ये करिब १० स्थानमा कालीगण्डकी नदीले सडक नै कटान गरेर बगाएको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडक मर्मतको काम तीव्र गतिमा भइरहेको छ। यसै साताभित्र सवारीसाधन सञ्चालन गर्न सकिने गरी काम भइरहेको उनले बताए।
यसअघि कोरला नाकातर्फबाट भुरुङ–तातोपानीसम्मको सडक दुई दिनमै खुलाइएको थियो। मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडक पनि मर्मत भइसकेको छ।
कुनौटामा कालीगण्डकीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। कटानका कारण पैदल हिँड्नसमेत कठिन भएको उक्त क्षेत्र मर्मतका लागि चुनौतीपूर्ण बनेको छ। आवश्यक इन्धनसमेत नेपाली सेना र ड्रोनको सहयोगमा कटान क्षेत्र पार गराइएको छ।
सेनाको सहयोगमा ड्रोनमार्फत छ पटक उडान गरेर ४०० लिटर डिजेल कुनौटाभन्दा माथि पुर्याइएको सडक योजनाले जनाएको छ।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, रातोपानी, महभीर र भिरकाटे क्षेत्रमा पनि काम भइरहेको छ। रातोपानीमा कालीगण्डकीले करिब २५० मिटर सडक कटान गरेपछि वैकल्पिक नयाँ ट्र्याक खोलिएको छ। पोखरेबगरमा कालीगण्डकी पुलको पहुँचमार्ग निर्माण पनि अघि बढेको छ।
सडक विभाग र निर्माण व्यवसायीका १५ स्काभेटर, १२ टिपर र १५ लोडर परिचालन गरी सडक खुलाउने काम भइरहेको छ।
चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण रहेकाले सडकलाई छिटो सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक कार्यालयले जनाएको छ। रसुवा र तातोपानी नाका बन्द रहेका बेला कोरला नाका झनै महत्वपूर्ण बनेको छ।
यता मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदै छ। पर्यटकीय याम पनि सुरु भएकाले बेनी–जोमसोम सडक छिटो खुलाउन दबाब बढेको छ।