काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज (बुधबार) हुँदैछ । फाइनलमा उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन् ।
दिउँसो साढे २ बजेबाट सुरु हुने फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । यसअघि फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको थियो । तर, लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको हो ।
सोमबार भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको थियो । नेपाल भने भुटानलाई पराजित गर्दै फाइनल पुगेको हो । भारत यसअघि तीनपटकको च्याम्पियन हो । पहिलो दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो । एकपटक भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
हालसम्म प्रतियोगिता पाँचपटक भइसकेको छ । नेपालले पहिलो दुई उपाधि जितेको थियो । पहिलो संस्करण यू-१९, दोस्रो यू-१८ हुँदै अहिले प्रतियोगिता यू-२० आधारमा आयोजना भएको छ । नेपालले सुरुका दुई उपाधि उचाल्दा त्यसपछिका तीनै उपाधि भारतले जितेको थियो । नेपालले साफ यू-२० च्याम्पियनसिप आयोजना गरेको यो चौथोपटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो । सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समै खेलाइएको थियो ।
उक्त प्रतियोगितामा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीनपटक उपाधि जितेको थियो । अब नेपाललाई फेरि घरेलु मैदानमा उपाधि जित्ने अवसर आएको छ ।