भक्तपुर । बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई स्वास्थ्यको ‘हव’ को रुपमा विकास गर्नुपर्ने बताएका छन् । आज जिल्ला सहकारी संघ भक्तपुरले आयोजना गरेको बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
भक्तपुर जिल्लामा १७ वटा निजी र सरकारी अस्पताल रहेको बताउँदै थापाले सबैको राम्रो व्यवस्थापन गरि उत्कृष्ठ बनाउनुपर्ने बताए। जिल्ला भित्रका सबै अस्पताललाई कम्तीमा एउटा उपचारका लागि उत्कृष्ठ बनाएर मानिसहरुलाई ‘भक्तपुर गएपछि सबै रोगको उपचार हुन्छ’ भन्ने वातावरणको निर्माणसमेत गर्नुपर्ने मन्त्री थापाले बताए ।
‘आफ्नै जिल्लाका अस्पतालमा सबै उपचार हुँदा जिल्लाबासीका लागि त सजिलो हुन्छ नै अन्य जिल्लाका मानिसहरु पनि उपचारका लागि काठमाडौंमात्र नभइ भक्तपुरलाई पनि गन्तब्यको रुपमा मान्न थाल्नेछन्’ मन्त्री थापाले भने । र, सो कार्यका लागि आफूले कार्ययोजना बनाउन राजनीतिक दलका नेताहरु, पुराना जनप्रतिनिधि, अग्रजहरु आदिसँग बसेर छलफलसमेत गरेको उनले बताए ।

स्वास्थ्य साथै शिक्षाको क्षेत्रमा पनि सुधार गर्दै लैजानमा पहल गर्ने उनले बताए । सरकारी र निजी दुबै विद्यालयलाई व्यवस्थापन गर्ने र शिक्षाका लागिसमेत ‘हव’ का रुपमा विकास गरिने थापाले बताए । ‘उच्च गुणस्तरीय शिक्षा उपलब्ध गराउन सक्दा अध्ययनका लागि अन्य जिल्लाहरुका विद्यार्थी पनि भक्तपुर आउँछन् । उनीहरुले कोठा भाडामा लिने, सामानहरु किन्ने आदिले गर्दा हामी सबैको आर्थिक प्रणालीमा पनि सुधार आउँछ’, मन्त्री थापाले भने ।
थापाले आफू मन्त्री भएको दिनबाट नै भक्तपुरको आर्थिक र सामाजिक सुधारका लागि पहलहरु गरिएको दाबी गरे । उनले भक्तपुर अस्पतालको अवस्थाको अवलोकन गरि त्यहाँको आवश्यकताबारे जानकरीसमेत लिएको जानकारी दिए । अस्पताल अवलोकनका क्रममा त्यहाँ कर्मचारीको अभाव भएको अवस्था देखिएको बताउँदै उनले सक्नेसम्म माग र आवश्यकताको सम्बोधन गर्ने वाचा गरे ।
स्वास्थ्यमन्त्री थापाले आफ्नो पद आफूले नभइ भक्तपुरबासीले पाएको बताए । र, आफ्नो पुरै कार्यकाल भक्तपुरलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेप्सकुनका पुर्व अध्यक्ष एवं सहकारी पिता कैलाशभक्त प्रधानाङग, जिल्ला सहकारी संघ भक्तपुरकाअध्यक्ष धुर्व रायामाझी, सचिव राम कासुलाले नवनियुक्त मन्त्री थापालाई शुभकामना व्यक्त गरेका थिए ।
साेहि अवसरमा नवनियुक्त मन्त्री थपालाई ॐसृजनसिल समाज सुर्यबिनायक-४ भक्तपुरलेसमेत सम्मान गरेकाे थियाे । समाजका अध्यक्ष अर्जुन केसी लगायतका पदाधिकारी तथा सदस्यले मन्त्री थापालाई सम्मानपत्र, खादा, मालासहित सम्मान गरेका थिए ।