दाङ । दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आइतबार बिहान घोराहीमा श्रीमती र छोराको हत्या गरेका हुन् । नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्जबाट श्रीमती आएकी छिन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको होटेल ग्रिनपासको कोठा नं. १ मा बास बसेका थिए । आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए ।
रुन्टीगढी गाउँपालिका–९, रोल्पा घर भएका नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।