भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्वर मन्दिर प्राङ्गणमा आज आयोजित एक विषेश कार्यक्रमका बिच वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
नामको लागि नभई कामको लागि मन्दिरको विकास र विस्तार भइरहेको बताइएको छ । करिव २५ रोपनी क्षेत्रफलमा समितिको गुरु योजनाका साथ मन्दिरको संरक्षण तथा विकास भइरहेको छ । उक्त गुरु योजना निर्माणको लागि करिव १२ करोड खर्च भइसकेता पनि सरकारबाट भने हालसम्म साढे तीन करोड रुपैयामात्र बजेट प्राप्त भएको समितिले जनाएको छ । अन्य रकम भने भेटी, नगरपालिका तथा पूर्वसांसद महेश बस्नेतको पहलमा अन्यबाट बजेट व्यवस्थापन गरी निर्माण कार्यहरु भइरहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद किरण थापाले धार्मिक तिर्थ स्थलको रुपमा भक्रपुर जिल्ला नै विकसित भइरहेको उल्लेख गरे । ‘केदारनाथको शिर डोलश्वर मन्दिरमात्र हैन, सूर्यविनायक नगरपालिका तथा भक्तपुर जिल्ला नै धार्मिक तिर्थ स्थलको रुपमा विकास भइरहेको छ’, उनले भने, ‘यहाँ देशभित्रका मात्र नभई विदेशका भक्तजनहरु समेत आउने गरेका छन् । यसको लागि हामीले डोलेश्वरमा आउने सडकहरु चारै तर्फबाट विकास र विस्तार गरिरहेका छौं । जसले गर्दा जिल्लाको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासलाई महत्वपूर्ण टेवा पुग्नेछ ।’

मन्दिर परिसरमा पूर्वाधारको विकास भइरहेको उल्लेख गर्दै उनले उक्त स्थानमा खानेपानीको समस्या समाधान गर्न प्रदेश सरकारबाट प्राप्त १९ करोडमा विभिन्न स्थानहरुमा काम भइरहेको जानकारी गराए । भगवानका नाममा राजनीति गर्नु नहुने उल्लेख गर्दै उनले सहकार्य र एकतालाई नभुल्न सवैलाई आग्रह समेत गरे ।
वडा नं.८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सिपाडोलको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास तथा प्रवद्र्धनको लागि डोलेश्वर मन्दिरले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।मन्दिरको विकास र संरक्षणको लागि वडाको तर्फबाट निरन्तर सहयोग भइरहेने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा समितिका अध्यक्ष धर्मराज बस्नेतले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन, महासचिव हरिशरण बस्नेतले २०७९/८० को कार्यक्रम प्रतिवेदन र २०८०/८१ को वार्षिक कार्यक्रम तथा कोषध्यक्ष रत्नप्रसाद छुकाले २०७९/८० को आर्थिक प्रतिवेदन र २०८०/८१ को अनुमानित बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सवै प्रतिवेदनहरु सर्वसम्मत ढंगले पारित गरिएको थियो ।
गुरु योजना अन्तरगतकै मन्दिरमा आउने भक्तजनहरुलाई भोजन खुवाउने भोजन गृहको शिलान्यास गरिएको छ । सांसद थापाको पहलमा बागमती प्रदेश सरकारबाट प्राप्त रु ३५ लाख तथा भेटीबाट थप २ लाख गरी ३७ लाखको लागतमा भोजन गृह निर्माण गर्न शिलान्यास गरिएको छ । उक्त रकमले निर्माण सम्पन्न नहुने भएकाले आगामी दिनमा थप बजेट व्यवस्थापन गरिदिन समितिले सांसद थापालाई आग्रह गरेको छ ।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष शिवराम राउत, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत असोक पाण्डे, बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका इन्जिनियर प्रमोद गौतम, अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरी, तीन नेत्र आध्यात्मिक चिन्तन केन्द्रका पूर्वअध्यक्ष केशव आचार्यलगायतले साधारण सभाको शुभकामना व्यक्त गरे ।