काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै श्रीलंकाले पहिलो पटक महिला एसिया कपको उपाधि जितेको छ । पहिलो पटक उपाधि जित्ने क्रममा श्रीलंकाले सात पटकको च्याम्पियन भारतलाई ८ विकेटले हराएको हो ।
श्रीलंकाले २ विकेटमात्र गुमाएर ८ बल खेल्न बाँकी रहँदै भारतले दिएको १६६ रनको विजयी लक्ष्य भेट्टाएको हो। आज श्रीलंकाको दाम्बुला अन्तरराष्ट्रिय क्रिकेट रंगाशालामा पहिले ब्याटिङ गर्दै भारतले ६ विकेट गुमाएर १६६ रन लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि हर्षिता समरविक्रमाले ५१ बलमा २ छक्का र ६ चौका हान्दे ६९ रन बनाइन् भने चमारी अटापट्टुले ४३ बलमा २ छक्का र ९ चौकासहित अविजित ६१ रन बनाइन्।
दुवैले दोस्रो विकेटमा ३५ बलमा ५० रनको साझेदार गर्दै जिततर्फ डोहोर्याए। यसअघि ओपनर विशमी गुणरत्ने १ रनमा रन आउट भइन्।
कविशा दिलहारीले १६ बलमा अविजित ३० रन बनाइन्। उनले २ छक्का र १ चौका प्रहार गरिन्। आजको खेलमा भारतका लागि दिप्ती शर्माले १ विकेट लिन सफल भइन्। हर्षिता समरविक्रमा प्लेयर अफ द म्याच भइन् भने चमारी अटापट्टु प्लेयर अफ द सिरिज भइन्।
त्यसअघि टस जितेर शुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन बनायो। भारतका लागि स्मृति मन्धानाले सर्वाधिक ६० रन बनाइन्। उनले ४७ बल खेलेर १० चौका प्रहार गरिन्।
ऋचा घोषले ३० रन तथा जेमिमाह रोड्रिग्जले २९ रन जोडे। शेफाली वर्माले १६ रन बनाइन्। हरमनप्रीत कौरले ११ रन‚ उमा क्षेत्रीले ९ रन‚ पूजा वस्त्रकारले अविजित ५ रन र राधा यादवले अविजित १ रन बनाए।
श्रीलंकाका लागि कविशा दिलहारीले २ विकेट‚ सचिनी निशांशला र उदेशिका प्रवोधनी र चमारी अटापट्टुले १/१ विकेट लिए। भारतले सन् २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ मा उपाधि जितेको थियो।