काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिता २०२४ मा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै समूह ए बाटै बाहिरिएको छ ।
भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाइन् ।
सम्झना खड्का ७, कविता कुँवर ६, पूजा महतो २, कविता जोशी डक, डली भट्ट ५, काजोल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बलमा २ चौकासहित १७ रनमा नट आउट रहिन् ।
भारतकी दिप्ती शर्माले ३, अरुणधिता रेड्डी र राधा यादवले २/२ विकेट लिए । रेनुका सिंहले १ विकेट लिइन् ।
समूह ए बाट भारत ३ खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुग्यो । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो ।
नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । नेपालको एसिया कपमा तेस्रो सहभागीता हो । यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेपनि एक खेल जित्न सकेको थिएन ।