भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ईश्वर खड्काले मौलिक संस्कृति संरक्षणका लागि ‘पाण्डुबजार फेस्टिभल’ आयोजना गर्ने बताएका छन् । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडाध्यक्ष खड्काले पाण्डुबजारको आफ्नै मौलिक संस्कृति भएका कारण त्यसको संरक्षणका लागि मेला आयोजना गर्ने बताएका हुन् ।
‘पाण्डुबजारको आफ्नै भिन्न किसिमको परम्परा छ । हाम्रो मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नगरपालिकासँग मिलेर पाण्डुबजार गेटदेखि कृष्णमन्दिरसम्म मेला आयोजना गर्ने योजना बनाएका छौं ।’, उनले भने ।

कार्यक्रममा खड्काले वडाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी लगायत सबै क्षेत्रहरुमा काम गरिरहेको बताए । विद्यालयका लागि आवस्यक पर्ने शैक्षिक सामाग्रीहरु वडाले विद्यालयहरुलाई प्रदान गरेको उनले बताए ।

त्यस्तै, नयाँ बाटो निर्माणका कार्यहरु गरिरहेको र पुरानाको मर्मत् साथै स्तरोन्नति गर्दै गएकोसमेत खड्काले जानकारी दिए । हाल वर्षातका कारण सडक स्तरोन्नति र कालोपत्रेको कार्य रोकिएको र वर्षा सकिएलगत्तै पुनः काम सुरु गर्ने उनले बताए ।
नयाँ खुलेका सडकहरु ८ मिटरको मापदण्ड अनुसार नै बनाइएको उनले जानकारी दिए । सडक निर्माणका लागि वडाबाट १ करोड रुपैयाँ छुट्याइएकोसमेत उनले जानकारी दिए ।
वडाले सबै वडाबासीहरुलाई समानरुपमा पानी वितरण गर्ने उद्देश्यका साथ २०० वटा धाराबाट पानी वितरण गरिरहेको खड्काले जानकारी दिए । खानेपानीको अभाव हुन नदिनका लागि वडाले सुवर्णश्वर खानेपानी आयोजनासँग समन्वय गर्नेसमेत उनले बताए ।
आफ्नो ६ नं वडालाई सबै आयामबाट विकास गर्दै लगिएको बताउँदै वडाध्यक्ष खड्काले प्रशासनिक कामका लागि आफ्नो वडा प्रविधिमैत्री भइसकेको समेत दाबी गरे । साथै, वडामा सेवा लिन आएका सेवाग्राहीहरुलाई सम्भव भएसम्म त्यही दिन नै सेवा दिँदै आएकोसमेत उनले दाबी गरे ।