भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भगवान खत्रीले आफ्नो वडाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै दिगो विकासका लागि प्रयत्न गरिरहेको बताएका छन् । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडाध्यक्ष खत्रीले पहाडी भेगमा निम्तिन सक्ने विभिन्न विपद्हरुबाट जोगिने किसिमको पूर्वाधार निर्माणको प्रयास गरिएको बताएका हुन् ।
‘हाम्रो ९ नम्बर वडामा अधिकांश पहाडी भूभाग छ । त्यसैकारण, पडाहका लागि उपयुक्त हुने किसिमका पूर्वाधारहरु निर्माण गरिरहेका छौं ।’, खत्रीले भने । ‘बाढीले नबगाउने र पहिरोले नलैजाओस् भनेर सडक निर्माणका लागि तलदेखि पर्खाल चिन्दै माथि ल्याएर मात्र बाटो बनाएका छौं ।’ उनले भने । साथै, मापदण्डअनुसार सडकमा निकासका लागि ढल पनि बनाउँदै लगिएको उनले बताए । भौगोलिक अवस्थाका कारण पूर्वाधार क्षेत्रमा धेरै गरेको नदेखिएतापनि दिगो रुपमा काम अगाडि बढाइएको उनले दाबी गरे ।
पहाडी भूभागमा माथिबाट बगेर आएको पानीले तलका बस्तीहरुलाई असर गर्ने गरेको समस्या खत्रीले कार्यक्रममा व्यक्त गरे । त्यसका लागि गत वर्ष कुलो बनाएर पानी निकास गरिएको उनले बताए । तर, यस वर्ष भने संघीय सरकारले २ करोड ५५ लाख रुपैयाँ बक्स कल्भर्टका लागि विनियोजन गरेका कारण आगामी वर्षहरुमा बाढीजस्ता प्रकोपहरुले धेरै क्षति गर्न नसक्ने उनले बताए ।
आफ्नो वडाको अधिकांश भूभाग पहाडी भएकाले वडाबासीहरुले खानेपानीको समस्या भोग्नुपरेको बताउँदै प्रत्येक घरमा पर्याप्त पानी पुर्याउनका लागि कार्यहरुसमेत सुरु गरिएको खत्रीले बताए । खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट ३ लाख देखि साढे ३ लाख रुपैयाँसम्मको ट्याङ्की निर्माण गरिएको उनले जानकारी दिए ।
मूलको पानी मात्र पर्याप्त नरहने भएका कारण नगरपालिकाले बोरिङ गरि जमिन मुनिबाट पानी निकाल्नका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए । तर, वर्षाका कारण अहिले बोरिङको कार्य गर्न नसकिने भएका कारण ६ महिनाको म्याद थपेर ‘डिप बोरिङ’ गरि पानी वितरण गरिने उनले बताए ।
भौगोलिक रुपमा केही विकटजस्तो मानिएतापनि वडा शैक्षिक गतिविधिमा भने पछाडि नरहेको उनले दाबी गरे । वडामा कृषि प्राविधिक धारको विद्यालय रहेको र त्यहाँ गुणस्तरीय शिक्षा दिइने उनले बताए । तर, विद्यालय जानका लागि पनि बाटोको राम्रो व्यवस्था नभएका कारण विद्यार्थी र शिक्षकशिक्षिकालाई समस्या पर्ने गरेको उनले बताए । सोही समस्यालाई मध्यनजर गर्दै गत आर्थिक वर्ष ४० लाख रुपैयाँ विनियोजन गरि सडक स्तरोन्नति गरिएको र चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको खत्रीले बताए ।
चर्चित धार्मिक तथा पर्यटकीय स्थलमा सहज रुपमा आवतजावतका लागि वडाले गत दुई वर्षमा पलाँसे–डोलेश्वर सडक कालोपत्रे गरेको वडाध्यक्ष भगवान खत्रीले जानकारी दिए । त्यस्तै, अन्य सडकहरु पनि विस्तार र केही ग्राभेल आदि गरि स्तरोन्नति गरिएको उनले बताए । साथै, पलाँसे–कांक्राबारी सडकलाई यसपटक प्राथमिकतामा राखेर अघि बढिएको उनले बताए ।

धार्मिक स्थलसम्म पुग्ने सडकको स्तरोन्नति जस्ता पूर्वाधारका काम मात्र नभइ वडाले धार्मिक मठमन्दिरकै संरक्षण पनि गरेको छ । नगरपालिका र पुरातत्व विभागको सहयोगमा वडाले लिच्छविकालीन नन्दिकेश्वर मन्दिरको संरक्षण र वरिपरिका स्थानमा आवश्यक पूर्वाधारहरुको निर्माण गरेको उनले जानकारी दिए । त्यस्तै, २० लाख रुपैयाँ विनियोजन गरि छुम्कोटी देवी मन्दिरको पनि जिर्णोद्धार गरिएकोसमेत उनले जानकारी दिए ।
आफ्नो वडाका अधिकांश क्षेत्र ग्रामीण भएका कारण फोहोर व्यवस्थापनका लागि भने खासै असहज नहुने खत्रीले बताए । कुहिने फोहोर करेसाबारीमा मल बनाइने र नकुहिने फोहोर उठाउन नेप्से म्याकको गाडी आउने गरेको हुँदा अहिले फोहोर सजिलै व्यवस्थापन भइरहेको उनले बताए ।