भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले आफ्नो वडाले भौतिकसँगै मानवीय विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा वडाध्यक्ष बस्नेतले विकासका सबै आयामलाई उत्तिनै प्राथमिकता दिई कार्य गरिरहेको बताएका हुन् ।
‘भौतिक विकाससँगै मानवीय विकासलाई पनि मध्यनजर गर्दै अगाडि बढ्नुपर्छ भनेर आएको अवधारणा अनुसार नै हामी अगाडि बढिरहेका छौं ।’ बस्नेतले भने । सो अवधारणालाई संस्थागत रुपमा नै अगाडि बढाउने प्रयास गरिरहेकोबारे उनले कार्यक्रममा बताए ।

सूर्यविनायक नगरपालिकाको ८ नम्बर वडाले मानवीय तथा सामाजिक विकासलाई वास्तवमा नै उच्च प्राथमिकतामा राखेको छ । शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सुधार साथसाथै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरुको संरक्षण, जगेर्ना र स्तरोन्नतिसमेत वडाले गर्दै आएको छ । त्यति मात्र नभएर वडाबासीको आर्थिक विकास र फरक क्षमता भएका मानिसहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनसमेत वडाले विभिन्न कार्यहरु गर्दै आएको छ ।
‘वडाबासीको सामाजिक विकासका लागि हाम्रो ८ नं वडाले विभिन्न युवा लक्षित, महिला लक्षित साथै अपाङ्ग लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । त्यसले उहाँहरुलाई केही हदसम्म आत्मनिर्भरतातर्फ डोहोर्याएको छ ।’ उनले भने ।
वडाले युवालाई लक्षित गरि ड्राइभिङ, बारिस्टा र कुकको तालिम दिएको बस्नेतले जानकारी दिए । तालिम पाएकाहरुले आफ्नो सीपको उपयोग गरिरहेको र आयआर्जनमा टेवा पुर्याइरहेको उनले बताए । त्यस्तै, महिलाहरुको सामाजिक विकासका लागि नेतृत्व विकास कार्यक्रमको समेत आयोजना गरिएको उनले बताए । महिलाहरुको सामान्य खर्चका लागि पनि पुरुषमा आश्रित रहनुपर्ने अवस्थाको अन्त्य गर्न धुप, कुशन आदि बनाउने तालिमसमेत दिइएको उनले जानकारी दिए । साथै, शारीरिक रुपमा असक्षम रहेकाहरुका लागि गुडिया, पोते आदि बनाउने तालिम दिइएको समेत उनले जानकारी दिए ।
तालिममार्फत् विभिन्न वर्गहरुमा नयाँ नयाँ कामको सीप विकास गर्न सहयोग पुर्याइरहेको वडाले विद्यालयस्तरीय शिक्षाको स्तरोन्नतिका लागि पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विद्यालयको भौतिक संरचनाको स्तरोन्नति सँगसँगै विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा दिनका लागि आवश्यक पूर्वाधार र सामग्री खरिदमा समेत वडाले सहयोग पुर्याएको छ । विद्यालयमा सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा परीक्षण गर्नका लागि आवश्यक पर्ने ल्याबहरु निर्माणका लागि समेत वडाले सहयोग गरिरहेको वडाध्यक्ष बस्नेतले बताए ।
शिक्षासँगै वडाले स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको छ । ८ नम्बर वडाको तल्लो भेगमा बस्ने मानिसहरुले नगर अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने र बिचका बस्तीहरुमा बस्ने मानिसहरुका लागि सिपाडोल स्वास्थ्य चौकी सहज पर्ने बस्नेतले बताए । माथिल्लो भेगका मानिसहरुका लागि भने दुबै स्वास्थ्य संस्थाहरु टाढा पर्न गएको वास्तविकतालाई मध्यनजर गर्दै गत वर्ष मात्रै पाटीभञ्ज्याङमा आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको उनले जानकारी दिए ।
स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने खानेपानीको समान वितरणका लागि पनि वडाले विभिन्न कार्यहरु गरेको छ । वडाले ‘एक घर एक धारा’ को नीतिलाई मध्यनजर गर्दै त्यसका लागि आवश्यक पर्ने पाइपसञ्जाल र अन्य पूर्वाधारहरु निर्माण गरिरहेको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । खानेपानीकै लागि भनेर बागमती प्रदेशबाट छुट्याइएको १९ करोड रुपैयाँ रकमको ठेक्का लागेर अहिले कामसमेत सुरु भइसकेको उनले बताए । वडाले डिप बोरिङ, मूल संरक्षण आदिका कामहरु पनि गरिरहेको उनले बताए । साथै, सबै वडाबासीलाई खानेपानीको समान वितरणका लागि छरिएर बसेका उपभोक्ता समितिलाई एकीकरण गरेर ‘वडास्तरीय जलस्रोत समिति’ गठन गरि वृहत् खानेपानी अवधारणामा लैजाने योजनासमेत रहेको बस्नेतले बताए । ८ नम्बर वडामा हाल फोहोर व्यवस्थापनका लागि नेप्से म्याक र क्लिन इनर्जीले सहयोग गरिरहेको वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।
मानवीय विकासका लागि यथासक्य प्रयास गरिरहेको ८ नम्बर वडामा प्रसिद्ध धार्मिक पर्यटकीय स्थल केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिर रहेको छ । धार्मिक आस्थाका कारण अत्यन्तै पवित्र तिर्थस्थल मानिने उक्त मन्दिरमा आउने पर्यटकहरुका कारण आसपासका स्थानीयहरुको आर्थिक विकासमा पनि टेवा पुग्दै आएको छ ।
धार्मिक महत्व साथै पर्यटकको आकर्षणको केन्द्रका रुपमा समेत स्थापित भएको सो मन्दिर संरक्षणका साथै त्यहाँसम्मको सहज यात्राका लागि पनि वडाले विभिन्न कार्यहरु गरिरहेको छ । उपत्यका विकास प्राधिकरणको ४ करोड १० लाख रुपैयाँ सहयोगमा डोलेश्वर जाने बाटोको स्तरोन्नति भइरहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।

त्यस्तै, हालैमात्र नगरपालिकाको र मन्दिर विकास कोषको क्रमशः ६० प्रतिशत र ४० प्रतिशत लागत अर्थात् ५५ लाख रुपैयाँ र ३५ लाख रुपैयाँ गरि ८५ लाख रुपैयाँ खर्च गरेर मन्दिर परिसरभित्र ढुंगा छाप्ने कार्य गरिएको उनले बताए । डोलेश्वर मन्दिर साथै वडाका अन्य धार्मिक महत्वका स्थललाई संरक्षण गर्न वडााले सहयोग गरिरहेको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिकाले लिएको ‘एक वडा एक फल्चा’ नीतिको पनि ८ नम्बर वडाले पूर्णरुपमा पालना गरेको छ । वडाले सूर्यविनायक गणेश मन्दिर र दार्जिलिङ हाइटमा २५ लाखको लागतमा मौलिक कलात्मक शैलीको फल्चा निर्माण गरेको छ ।
साथै, सूर्यविनायक गणेश मन्दिरमा वडाले १७ लाख रुपैयाँ खर्चिएर शौचालयसमेत निर्माण गरेको छ । त्यस्तै, काभ्रे र भक्तपुरको सिमानामा पर्ने आशापुरी महादेव मन्दिरमा समेत वडाले शौचालय निर्माण गरेको बस्नेतले जानकारी दिए ।
सामाजिक र मानवीय विकासलाई प्राथमिकतामा राख्दै गर्दा वडाले पूर्वाधार विकासका कार्यलाई पछि छाडेको भने छैन । सडक, ढल, खानेपानी आदि क्षेत्रलाई पनि वडाले समानान्तर रुपमा अगाडि बढाउँदै लगेको छ ।
२०७९ सालमा आफू निर्वाचित भएर आएपछिका २ वर्षमा हरेक वर्ष २० करोड भन्दा धेरैका पूर्वाधार विकासका काम भएका वडाध्यक्ष बस्नेतले जानकारी दिए । आफू भन्दा पहिलेका जनप्रतिनिधिहरुले सुरु गरेका कामहरुलाई निरन्तरता दिँदै अन्य क्षेत्रहरुमा समेत कार्यहरु गरिरहेको उनले बताए ।
विगतका दुई वर्षमा पाटीभञ्ज्याङ देखि घ्याम्पेडाँडा सडक पूर्ण रुपमा कालोपत्रे गरिसकिएको बस्नेतले बताए । वडाले गत वर्ष बासीडोलमा पक्की मोटरेबल पुल बनाएकासमेत उनले जानकारी दिए । त्यस्तै, आदर्शदेखि वडा कार्यालयको सडकका केही स्थानमा कालोपत्रे गरिएको र सो सडकको बाँकी स्थानको कालोपत्रे आफ्नो कार्यकालभित्रै पुरा गरिसक्ने लक्ष्य राखिएको उनले बताए । ती बाहेक अन्य सडकहरुको पनि स्तरोन्नतिका कामहरु भइरहेको बस्नेतले बताए । अबका समयमा सडक स्तरोन्नति र पुल निर्माणका लागि १ करोड ५४ लाख रुपैयाँमा ठेक्का लागिसकेको र चाँडै नै त्यसको काम सुरु हुनेसमेत उनले जानकारी दिए ।