भक्तपुर । दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको अध्यक्षमा कृष्ण हरि खड्का निर्वाचित भएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटमा शनिवार भएको मतगणनामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका खड्का ५ सय २९ मतान्तरले विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा वासुदेव बस्नेत र महिला उपाध्यक्षमा कांग्रेस सहितको गठबन्धनका मन्दिरा बाँस्कोटा निर्वाचित भएका छन् ।
समितिको सचिवमा राजन प्रजापति, सहसचिवमा धर्म बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्षमा गठबन्धनका तर्फबाट भरत कुमार खड्का निर्वाचित भएका छन् ।
दधिकोट शहरी खानेपानीको महिला सदस्यमा सलिना खड्का, अस्मिता थापा, इन्द्रकुमारी भट्टराई, खुल्ला सदस्यमा उमेश रिसाल र श्याम विष्ट विजय भएका छन् ।
दक्षिण वाराही प्रणालीबाट मनिष ढुङ्गेल, सिकारिटार प्रणालीबाट रञ्जन राजथला, तर्खगाल प्रणालीबाट विष्णु खत्री र रामेश्वरी श्रेष्ठ सहितको टोलीले विजय हासिल गरेका छन् ।
त्यसैगरी, अनन्तलिङ्गेश्वर समिति र सिकारीटार समितिमा पनि गठबन्धनका उम्मेदवार बिजयी भएको बताइएको छ ।