भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री घोषणा गर्न वडास्तरबाटै लागिपरेको १ नम्बर वडाका वडाध्यक्ष सानुकाजी कायस्थले बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा कायस्थले भौतिक पूर्वाधारको विकाससँगै आफ्नो वडाले बालमैत्री बनाउनका लागि कार्यहरु गरिरहेको बताएका हुन् ।
‘२०८३ सालमा सूर्यविनायक नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नका लागि वडास्तरबाटै कार्यक्रमहरु सञ्चालन गर्न लागेका छौं ।’ वडाध्यक्ष कायस्थले भने । बालबालिकाहरुको सामाजिक विकासका लागि नगरपालिका भ्रमण गराइएको र वाक् कौशल विकासका लागि वक्तृत्वकला प्रतियोगिता आयोजनासमेत गरिएको उनले जानकारी दिए । यस्तै किसिमका सिप विकास गर्ने कार्यक्रमहरु आयोजना गरिएको र आगामी दिनहरुमा पनि ती किसिमका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको कायस्थले बताए ।
वडाले महिला सहितका लक्षित वर्गका लागि विभिन्न शीपमूलक तालिमहरु सञ्चालन गरेको सानुकाजी कायस्थले बताए । आर्थिक स्तर सुदृढ पर्ने उद्देश्यले पुष्पखेतीको तालिम दिइएको उनले जानकारी दिए । त्यससँगै सामाजिक विकासका लागि महिलाहरुलाई आधारभूत साथै उद्घोषणको एडभान्स तालिमसमेत दिइएको उनले बताए ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थानको संरक्षणलाई पनि वडाले उच्च प्राथमिकतामा राखेको छ । सूर्यविनायकको १ नम्बर वडामा रहेको बालकुमारीको मन्दिर, विश्वरुपेश्वर मन्दिर आदि धार्मिक महत्वका केन्द्रलाई प्रदेशको सहयोगमा संरक्षण गरिएको वडाध्यक्ष सानुकाजी कायस्थले बताए । साथै, बागमती प्रदेश सरकारको सहयोगमा चरखण्डी मन्दिरमा ढुंगा छाप्ने काम गरिएको उनले बताए ।
सामाजिक, आर्थिक र सांस्कृतिक विकासलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्दै गर्दा १ नम्बर वडा भौतिक विकासमा पनि पछि परेको भने छैन । चालू आर्थिक वर्षमा वडाले प्रदेश सरकारको सहयोगमा कौशलटार–बालकोट–बिरुवा सडकको २.२ किलोमिटर सडक कालोपत्रे भएको वडाध्यक्ष कायस्थले जानकारी दिए । संघ साथै प्रदेशको सहयोगमा विरुवा जाने सडक पिच र १ किलोमिटर ढलान गरिएको उनले बताए ।
नगरपालिकामा जसंख्या बढ्दै गएका कारण विद्युत् खपत बढिरहेको बताउँदै कायस्थले २ वटा ट्रान्समिटर थप्ने योजना गरिएको वडाध्यक्ष कायस्थले बताए । अबको समयमा पनि भौतिक मात्र नभइ सामाजिक, आर्थिक र सामाजिक आयामबाट पनि विकास गर्दै लैजाने रु अधुरो रहेका योजनाहरु पुरा गर्ने उनले बताए ।