काठमाडौं । भारत १० वर्षपछि आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुुगेको छ । इङ्ग्ल्यान्ड माथि फराकिलो जित निकाल्दै भारत फाइनलमा प्रवेश गरेको हो। भारतले प्रोभिडेन्स स्टेडियम गयानामा गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई ६८ रनले पराजित गरेको हो ।
भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको साविक बिजेता इङ्ग्ल्यान्डले खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमै अलआउट भयो। इङ्ग्ल्यान्डका लागि ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाए। ह्यारी ब्रुकले १९ बलमा २५ रन जोडे। जोन्नी बेयर्सटो ३ बलको सामना गर्दै शून्यमा आउट भए। मोइन अलीले टिमका लागि मात्र ८ रन जोडे।
स्याम करन २ रनमा पेभेलियन फर्किए। क्रिस जोर्डन, लियम लिभिङस्टोन र आदील रशिद क्रमशः १, ११ र २ रनको योगदान दिदैँ पेभेलियन फर्किए। जोफ्रा आर्चरले १५ बलमा २१ रन बनाए। भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए। जसपृत बुम्राहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले ७ विकेटको क्षतिमा १७१ रनको योगफल खडा गरेको थियो। भारतका ओपनर तथा कप्तान रोहित शर्माले अर्धसतकीय पारे खेले। उनले ३९ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे। विराट कोहोलीले ९ बलमा ९ रन बनाएर आउट भए।
सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे। हार्दिक पन्ड्याले १३ बलमा २३ रन बनाए। रविन्द्र जडेजा ९ बलमा १७ रन बनाउँदै नटआउट रहे। अक्षर पटेलले टिमका लागि १० रन जोडे। इङ्ग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए। रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १(१ विकेट लिए।
भारत र दक्षिण अफ्रिका भोली शनिबार उपाधिका लागि भिड्ने छन्। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।