झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले स्थानीय चार सय विपन्न परिवारलाई खाट वितरण गरेको हो ।
विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए । वडामा अधिकांश विपन्न समुदायको बसोबास रहेको बताउँदै प्रसाईले घरमा खाट नहुनेलाई खाट वितरण गरेको बताए । वडाध्यक्ष प्रसाईँका अनुसार, शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको थियो।
खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएको बताइएको छ । वडा नं ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको बसोबास छ ।