कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित

कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित

शुक्रवार, आषाढ ७ २०८१
शुक्रवार, आषाढ ७ २०८१
  • कांग्रेसको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक आइतबारसम्मका लागि स्थगित

    बुटवल । लुम्बिनी सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट संघीयता विरोधी भएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रवारको लुम्बिनी प्रदेश सभाको बजेट माथिको छलफल स्थगित भएको छ । 

    कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय लिएर बैठकमा बोल्दै बजेट संघीयता विरोधी भएको, कृषि र पर्यटन क्षेत्र विरोधी भएकाले कांग्रेसले त्यसको बिरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए । त्यस लगत्तै विपक्ष दलका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएका थिए ।

    नेता चौधरीले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको सरकारले कृषिमा चालु वर्षको भन्दा ५८ करोड बजेट घटाएको, पर्यटनमा पनि बजेट घटाएको भन्दै बिरोध गरेका थिए । किसानलाई समयमै मलबिउ पुर्‍याउन नसक्ने सरकार किसान मैत्री हुनै नसक्ने उनको तर्क थियो ।

    उनले सरकारले प्रदेशको लोपोन्मुख समुदाय बादी, गन्धर्व, चमार, नटुवा जातीका लागि राखिएको बजेट पनि कटौती गरेको बताए । बाटो बनाएर मात्र संघीयता कार्यान्वयन नहुने भन्दै कांग्रेस बजेटको विपक्षमा उभिने बताए । ‘सरसर्ती हेर्दा बजेट सैद्धान्तिक रुपले संघीयता विरोधी छ, कृषि र पर्यटन विरोधी छ,’ उनले भने, ‘बाटो बनाएर संघीयता लागु हुँदैन, किसानलाई मल बिउ दिने र स्थानीय उत्पादनको ब्राण्डिङ गर्ने बजेट लुम्बिनीका लागि जरुरी हो ।’

    बजेटले निजी क्षेत्रका कुनै पनि माग र चासो सम्बोधन गर्न नसकेको र अनुत्पादक क्षेत्रमा बजेटको खोलो बगेको भन्दै समग्रमा संघीयता विरोधी बजेट आएको भन्दै कांग्रेस बजेटका विपक्षमा उभिने बताए ।

    कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीले संवाद गर्ने गरी आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर दलहरूबीच सहमति नजुटेपछि प्रदेश सभा ९ गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij