काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले अपराजित यात्रा कायम राखेको छ । शुक्रबार सम्पन्न खेलमा बङ्गलादेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले हराउँदै अस्ट्रेलियाले ‘सुपर–८’ चरणको खेलमा पनि जितलाई निरन्तरता दिएको हो ।
‘सुपर–८’ चरणको ‘समूह–१’ का चारवटै टोलीले एक–एक खेल खेल्दा दुई अङ्कसहित अस्ट्रेलिया पहिलो र समान अङ्क जोडेको भारत दोस्रो स्थानमा छन् । पहिलो खेलमा पराजित भएको अफगानिस्तान तेस्रो र बङ्गलादेश चौथो स्थानमा रहेका छन् । उक्त समूहको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
अस्ट्रेलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।
वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो । जितसँगै अस्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । अस्ट्रेलियाको जितमा ओपनर डेभिड वार्नरले अविजित ५३ रनको योगदान गरे । वार्नरले ३५ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे । अर्का ओपनर ट्राभिस हेडले २१ बलमा दुई छक्का र तीन चौकासहित ३१ रन थपे ।
ग्लेन म्याक्सवेलले पनि ६ बलमा एक छक्का र एक चौकासहित अविजित १४ रनको योगदान गरे । बंगलादेशी बलर रिसाद होसैनलले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४१ रन बनाएका थिए । उनले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका पनि प्रहार गरे ।
तौहिद हृदोयले पनि ४० रन बनाए । उनले केवल २८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १६ र तास्किन अहमदले अविजित १३ रन बटुले । बङ्गलादेशका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बङ्गलादेशले अतिरिक्त रुपमा पनि १४ रन पाएको थियो ।
अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २९ रन खर्चिएका थिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मिचेल स्टार्क, मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले पनि एक–एक विकेट हात पारे ।