काठमाडौं । नेपाली कांग्रेसका नेता तथा रसुवा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै आचार्यले केन्द्रीय सदस्य पदमा पुनः उम्मेदवारी घोषणा गरेका हुन् । उनी यसअघि पनि कांग्रेसको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेका छन् ।
आचार्य १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विशेष महाधिवेशनबाट समेत उनी केन्द्रीय सदस्य बनेका थिए । यसअघि उनी चारपटक महाधिवेशन प्रतिनिधि र तीनपटक महासमिति सदस्य भइसकेका छन् ।
रसुवा क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित आचार्यले २०८२ सालको निर्वाचनमा १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका थिए । उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समेत रसुवाबाट निर्वाचित भएका थिए ।
आचार्यको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो । महासमिति सदस्य हुँदै उनी कांग्रेसको केन्द्रीय राजनीतिमा पुगेका हुन् । संसदमा रहँदा उनले सार्वजनिक लेखा समितिको सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए ।
केन्द्रीय सदस्यमा पुनः उम्मेदवारी घोषणा गर्दै आचार्यले कांग्रेसलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।