काठमाडौँ । टी–२० विश्वकप सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ । गएराती सम्पन्न खखेलमा दक्षिण अफ्रिकासँग सँग अमेरिका १८ रनले पराजित भएको हो । अमेरिकाका आन्द्रियस गोउसको शानदार अर्धशतकका बाबजुद अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको हो ।
दक्षिण अफ्रिकाले जितका लागि प्रस्तुत गरेको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले ४७ बलमा ८० रन बनाएका थिए । उनले यस क्रममा ५ चौका र ५ छक्का प्रहार गरे ।
उनले हरमित सिंहसँग मिलेर टोलीका लागि छैटौँ विकेटमा ४३ बलमा ९१ रनको किर्तिमानी साझेदारी गरे । सिंहले २२ बलमा ३८ रन जोडे । अमेरिकाका ओपनर स्टिभन टेलरले १४ बलमा २४ रन बनाउँदै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । कोरी एन्डरसनले १२ बलमा १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । केशव महाराज, एनरिच नोर्टजे र ताब्रियाज साम्सीले समान एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वीन्टन डी ककले ४० बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ७४ रन बनाएका थिए । डी ककसँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका कप्तान ऐडन मार्क्रमले चार चौका र १ छक्कासहित ३२ बलमा ४६ रन हिर्काए ।
हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन बनाउँदै ठुलो योगफल बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । नेत्रभाल्करले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । सिंहले ४ ओभरमा २४ रन दिएका थिए ।