काठमाडौं । युरो कप फुटबल प्रतियोगितामा गए राति पूर्वविजेता पोर्चुगलले बिजयी शुरुवात गरेको छ । चेक गणतन्त्रविरुद्ध जित हातपार्दै पोर्चुगलले बिजयी शुरुवात गरेको हो । ३९ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेल समेत रहेको समूह डी को सो खेलमा पोर्चुगलले २–१ गोलको पुनरागमन जित हासिल गरेको थियो।
पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। यता, चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे पनि टिमलाई हारलाई जोगाउँन सकेनन् ।
६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्कियो। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जित दिलाए।
खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्। रोनाल्डो इतिहासमा ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बन्दै नयाँ कीर्तिमान बनाएका हुन्। २००४ देखि युरोकपमा सहभागी रोनाल्डो त्यसपछि लगातार छौठौँपटक सहभागिता जनाएका छन्।
यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहँदा पराजित चेक रिपब्लिक तेस्रो तथा जर्जिया पुछारमा कायम रहेको छ।