भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएका एकमहिने माधव नारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो । यहाँ माघको चिसोको वास्ता नगरी बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै व्रत शुभारम्भ गरेका छन् ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला बिहिवार हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर नारायणको पूजा गरेपछि व्रत सुरु भएको व्रतालु विनोद प्रजापतिले जानकारी दिए । त्रिवेणीधाममा आज १४ जना महिला तथा पुरुषले स्नान गरी श्री नारायण एवं स्वस्थानी व्रत सुरु गरेको प्रजापतिले बताए ।
साँखुको शालीनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको दावी संस्कृतिकर्मी गुरु परमानन्द जोशीले गरेका छन् । माधव नारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने चलन छ । शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।
त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधव नारायणको कथा वाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्नेको घुइँचो लाग्ने गर्दछ । नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरेका शिलालेखमा उल्लेख गरिएको बताउँदै जोशीले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर मागेको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्नेको घुइँचो लाग्ने गरेको बताए ।
व्रतालुले खाली खुट्टा पैदल तिल माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने चलन छ । त्यसैगरी द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गर्ने परम्परा रहेको प्रजापतिले जानकारी दिए ।
व्रतालुले हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागिता जनाउने परम्परा रहे पनि यस वर्ष कोरोनाको त्रास रहेकाले घाटमा महिनादिनसम्म व्रत भने नबस्ने परम्परा छ । पुरुष व्रतालुहरुले शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी बिन्ती गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा छ ।
व्रतालुले बिहानै हनुमानघाटमा आवश्यक विधिवत् पूजाआजा गरी नगरका विभिन्न ठाउँबाट विभिन्न बार र तिथि मिलाएर कोहीले शङ्ख बजाउँदै कोही घिस्रिएर र कोही जीउ नापेर जाने परम्परा रहेको छ । घरका महिलाले भुइँमा सेता कपडा ओछ्याउने र पुरुषले तिलमाधव नारायणको मन्दिरदेखि लड्दै शरीर नाप्दै त्रिवेणीधाम पुगेर स्थान गर्ने गर्दछन् ।
यो परम्परा नगरका माथिल्लो टोलका बाखुपति, टौमढीस्थित तिलमाधव, वंशगोपालको माधव, इताछेंस्थित ख्वाली, र तुलाछेँ नारायणलगायत नगरका २४ टोलका २४ नारायणको दर्शन गर्ने परम्परा रहेको संस्कृतिकर्मी जोशीले जानकारी दिए । उनका अनुसार माधव नारायणको पूजामा नारायणलगायत भक्तपुर नगरमा भिमा एकादशीका दिन परदेशी भीमसेन र श्रीपञ्चमीका दिनमा सरस्वती मन्दिरबाट समेत सिलामन तुले गरिन्छ ।
यहाँ व्रत बसेकाहरु भक्तपुर नगरलगायत पशुपति, पनौती र चाँगुनारायणको दर्शनका लागि समेत जाने परम्परा रहेको छ । व्रत बसेर शरीर नाप्दा धार्मिक दृष्टिकोणले मनले चिताएको इच्छा पूरा हुने, परिवारमा सुख शान्ति मिल्ने जनविश्वास रहेको छ । माधव नारायणको एक महिना व्रत बस्दा नियमित रुपमा व्रत र पूजा सकेपछि दैनिक टौमढीस्थित तिलमाधव नारायण र जोर गणेशको दर्शन गरेरमात्र खाने परम्परा छ ।
व्रतालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणी खोलामा आएर स्नान गरी माधव नारायणको पूजा गरेर होम आहुति गरेपछि भक्तपुर नगरका विभिन्न देवालयको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ । मेला सञ्चालनका लागि भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाममा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइदिए पनि आर्थिक सहयोग नगरेकाले मेला सञ्चालनमा समस्या भएको मेला सञ्चालक समितिले जनाएको छ ।