काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले र बंगलादेश भिड्दै छन । सेन्ट भिन्सेन्टको किङ्सटाउनस्थित आर्नोस भेल क्रिकेट रङ्गशालामा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ।
नौ ओभरको खेल सकिदा नेपालले उत्कृष्ठ खेल पस्केको छ । र बंगलादेशले पाँच विकेटको क्षतिमा ५२ रन बनाएर खेलिराखेको छ । खेलको पहिलो ओभरको पहिलो बलमै सोमपाल कामीले बंगलादेशका ओपनरलाई आउट गरेका थिए । दोश्रो ओभरमा दिपेन्द्र सिंह ऐरीले नेपालका लागि दोश्रो विकेट लिए ।
चौथो ओभरमा सोमपालले व्यक्तिगत दोश्रो तथा टिमका लागि तेश्रो विकेट लिए । त्यसैगरी कप्तान रोहित पौडेलले छैठौ ओभरमा चौथो विकेट लिदा बंगलादेशले ३० रन जोडेको थियो ।
समूह चरणबाट बाहिरिसकेको नेपाल अन्तिम खेल जित्दै सुखद समापन गर्ने लक्ष्यमा छ। समुह डी को आफ्नो तेस्रो खेल जित्दै सुपर एट पुग्ने सम्भावना कायम राख्ने लक्ष्यमा रहेको नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि प्रतियोगिताबाट बाहिरीएको थियो।
जितका लागि १ बलमा २ रनमात्र आवश्यक रहेको अवस्थामा सम्हालिन नसक्दा नेपाल ऐतिहासिक जित नजिक पुगेर निराश बनेको थियो। हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना सकियो बंगलादेशलाई फाइदा पुग्यो।
आज अब यीनै २ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। ३ खेलमा १ अंकमात्र जोड्दै अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरीएको नेपालका लागि बंगलादेशविरुद्धको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ।
दवाबविहीन नेपाललाई एक टेस्ट राष्ट्रलाई हराउने मौका छ। विश्वकपमा नेपाल र बंगलादेश दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। १० वर्षपछि नेपाललाई त्यो हारको बदला लिने मौका आएको छ।
आजै यही समूहका नेदरल्याण्ड्स र श्रीलंका आमने सामने हुनेछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुनेछ। श्रीलंका विश्वकपबाट बाहिरिसकेको छ भने नेदरल्याण्ड्ले आजको खेल जितेर बंगलादेशले हारे अन्तिम आठको सम्भावना कायमै छ।