काठमाडौँ । टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको समूह बी अन्तर्गतको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।
अस्ट्रेलियाको जितसंगै साबिक विजेता इंग्ल्यान्डका रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै टोली सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको समान ५ अङ्क भए पनि इंग्ल्यान्ड रन रेटका आधारमा सुपर ८ मा पुगेको हो ।
यसअघि इंग्ल्यान्डले नामिबयालाई हराउँदै स्कटल्यान्डसँग अङ्क बराबरी गरेको थियो । सो समुहमा ४ खेलपछि ८ अङ्क बटुल्दै अस्ट्रेलिया समूह विजेता बन्यो । ५ अङ्क र राम्रो नेट रेटसहित इंग्ल्यान्ड दोस्रो बन्दै अघि बढ्यो ।
अस्ट्रेलियाका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ६८ रन बनाए । ४९ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मार्कस स्टोइनिसले २९ बलमा ५९ रन जोडे । यस क्रममा उनले ९ चौका र २ छक्का हिर्काए ।
टीम डेभिडले नटआउट रहदै १४ बलमा २४ रन जोड्दै टोलीलाई जितसम्म डोर्याए । स्कटल्यान्डका लागि मार्क वाट र सफयान सरिफले २-२ विकेट लिए भने ब्राड व्हिलले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले ३४ बलमा ६९ रन बनाएका थिए । उनले २ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै, कप्तान रिची बेरिङटनले नटआउट रहँदै ३१ बलमा ४२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का हिर्काए ।
ओपनर जर्ज मुन्सेले ३५ रन बनाए । २३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । विकेटकिपर म्याथ्यु क्रसले ११ बलमा १८ रन जोडे ।
अस्ट्रेलियाका लागि ग्लेन म्यासवेलले २ तथा एस्टन अगर, नाथन इलिस र एडम जाम्पाले १–१ विकेट लिए ।