चाँगुनारायणका सवै वडामा स्वास्थ बुढ्यौली परियोजना

चाँगुनारायणका सवै वडामा स्वास्थ बुढ्यौली परियोजना

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • चाँगुनारायणका सवै वडामा स्वास्थ बुढ्यौली परियोजना

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा स्वास्थ बुढ्यौली परियोजना संचालन गरेको छ । परियोजनाका गतिविधिहरु अन्तर्गत चाँगुनारायणका ९ वटै वडाहरुमा ज्येष्ठ नागरिक मिलन चौतारी गठन÷पूर्नगठन, स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना सम्बन्धि अभिमुखिकरण र योजना संकलन कार्यक्रम सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ ।

    c2.jpg

    त्यसै क्रममा मंगलवार चाँगुनारायण नगरपालिकाको –२ दुवाकोटमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । वडा नं. २ का वडाअध्यक्ष सोम प्रसाद प्रधानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वडा सदस्यहरु उमेश प्रधान, राधादेवी गैँडा, सीता मिजार, प्रेम खत्रीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा ज्येष्ठनागरिक मिलन चौतारीका अध्यक्ष लक्ष्मीभक्त सुवाल, चाँगुनारायण नगरपालिकाका सहारा परियोजना संयोजक दिनेश थापा, ने.रे.सो केन्द्रका कार्यक्रम संयोजक राजु राउत, भक्तपुर रेडक्रसकी कार्यालय प्रमुख उमा थापा लगायत ज्येष्ठ नागरिक मिलन चौतारीका सदस्य तथा कर्मचारी गरी ६७ जनाको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले तयार गरेका ज्येष्ठ नागरिक मिलन चौतारी गठन कार्यविधि २०८० अनुरुप वडा स्तरमा गठन भएका ज्येष्ठ नागरिक मिलन चौतारीहरु आवश्यकता अनुसार गठन र पूर्नगठन गरिएको बताए । सबै ज्येष्ठ नागरिक मिलन चौतरीलाई नगरपालिकामा संस्थाको रुपमा दर्ता गर्ने प्रक्रिया अघि बढाइने बताउँदै वडा अध्यक्ष प्रधानले आगामी दिनमा जनसंख्या र क्षेत्रफलका आधारमा ज्येष्ठ नागरिक मिलन चौतारी थप गर्दै जाने बताए । 

    c3.jpg

    कार्यक्रममा बोल्दै वडा सदस्य उमेश प्रधानले ज्येष्ठना गरिकका लागि आवश्यक योजना ज्येष्ठ नागरिक मिलन चौतरी मार्फत वडामा पेश गर्न आग्रह गरे । चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजनाका संयोजक दिनेश थापाले चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण, रगत र रक्ततत्वका साथै निःशुल्क रुपमा अक्सिजन वितरण गर्दै आएको बताए ।

    विभिन्न औषधीहरु निःशुल्क वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, ज्येष्ठ नागरिक समुह गठन, बाद्य्यबाधन सामग्री वितरण, घरदैलो स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक भ्रमण जस्ता विविध कार्यक्रम तथा गतिविधि संचालन गरिरहेको थापाको भनाई थियो । नेपाल रेडक्रस सोसाइटीभक्तपुर शाखाकी कार्यालय प्रमुख उमा थापाले ज्येष्ठ नागरिकका लागि परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा जानकारी दिदै परियोजनाको उद्धेश्य र गतिविधिका बारेमा जानकारी गराएकी थिइन ।

    अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गरेका थिए । नगरपालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवालाइ अझ प्रभावकारी बनाउनु पर्नेमा उनीहरुको जोड थियो । दिँउसोको समयमा ज्येष्ठ नागरिकलाई समय विताउन सामुदायिक भवन निर्माण गर्नुपर्नेमा सहभागिले जोड दिएका थिए ।

    त्यसैगरी घरदैलो स्वास्थ्य परिक्षण, निःशुल्क स्वास्थ्य विमा लगायतका विषयमा सुझाव दिएका थिए । सो ज्येष्ठ नगरिकहरुको भेलाले लक्ष्मीभक्त सुवालको अध्यक्षतामा १७ सदस्यीय वडा नं २ को ज्येष्ठ नागरिक मिलन चौतारी पूर्नगठन गरेको छ । चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठनागरीकको लागि आवश्यक सेवाको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठनागरीक प्रति समाजले गर्ने व्यबहारमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन भइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिने बताइएको छ ।

    जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म तीन वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत तीन करोड रुपैया रहेको छ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्ने छ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्ने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij