लगातार तेस्रो जितसँगै अष्ट्रेलिया र दक्षिण अफ़्रिका सुपर-८ मा

लगातार तेस्रो जितसँगै अष्ट्रेलिया र दक्षिण अफ़्रिका सुपर-८ मा

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • लगातार तेस्रो जितसँगै अष्ट्रेलिया र दक्षिण अफ़्रिका सुपर-८ मा

    अमेरिका । लगातार तेस्रो जितसँगै अष्ट्रेलिया र दक्षिण अफ़्रिका आईसीसी टी-२० विश्वकपको सुपर-८ मा प्रवेश गरेका छन् । पछिल्लो खेलमा उपाधि दाबेदार अष्ट्रेलियाले  नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । तेस्रो जितसंगै समूह बी मा रहेको अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको हो । 

    नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । अष्ट्रेलियाका लागि ट्रविस हेड १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । मिचेल मार्श ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नट आउट रहे । नामेबियाका डेविड विजाले १ विकेट लिएका थिए । 

    त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भएको थियो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । माइकल भान लिंगेनले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट लिए । 

    अष्ट्रेलियाले ओमानलाई ३९ र साविक बिजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो । अष्ट्रेलियाले १६ जुनमा समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ । 

    स्कटल्यान्ड ३ खेलमा २ मा जित र एक खेलमा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । सो समुहमा नामिबिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । ओमान ३ खेलमा जित विहीन हुँदै बाहिरिएको छ । यसअघि समूह डी को दक्षिण अफ्रिकाले ३ खेलमा ६ अंकसहित  सुपर-८ मा स्थान पक्का गर्ने पहिलो टोली बनेको थियो । हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij