नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

बुधवार, जेठ ३० २०८१
बुधवार, जेठ ३० २०८१
  • नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

    काठमाडौँ । फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र  यमनले समान गोल गरेका छन् । 

    साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र यमनबीचको खेल दुई/दुई गोलको बराबरीमा टुङ्गिएको हो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालका लागि फरवार्डरद्वय सञ्जीव विष्ट र जिलेस्पीजङ्ग कार्कीले समान एक/एक गोल गरे । खेलको  नवौँ मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो । बक्सभित्र मनिष डाँगीले यमनका खेलाडी रमी अल–वासमानीमाथि खेल नियम उल्लङ्घन गरेपछि यमनले पेनाल्टी पाएको थियो । पेनाल्टी सदुपयोग गर्दै नसीम अल–गाहवाहीले गोल गरेका थिए ।

    खेलको २२औँ मिनेटमा सञ्जीवले गोल फर्काका थिए । खेलको ६६औँ मिनेटमा नेपालले अग्रता लियो । नेपालका छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडरमा जिलेस्पीले गोल गरे । नेपालको दुई/एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफको अतिरिक्त समयमा यमनका मोहम्मद अल–दाहीको गोल गरेपछि अन्ततः खेल दुई/दुई गोलको बराबरीमा सकियो ।
     
    उक्त छनोट प्रतियोगितामा नेपालले एक अङ्क जोडेको हो । नेपालले यसअघि कुनै पनि गोल गर्न सकेको थिएन । यो खेलसँगै नेपालले समूह चरणका छ खेलमा एक अङ्क जोड्दै विश्वकप छनोटको दोस्रो चरणको यात्राको अन्त्य गरेको छ ।

    यसअघि नेपाल युएईसँग पहिलो खेलमा चार/शून्य र यमनसँग दुई/शून्यले पराजित भएको थियो । बहराइनसँगको पहिलो खेलमा पाँच/शून्य र दोस्रो खेलान तीन–शून्यले नेपाल पराजित भएको थियो ।

    नेपाल रहेको समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) १६ अङ्कसहित शीर्षस्थानमा छ भने बहराइन ११ अङ्कसहित दोस्रोमा छ । यी दुई टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्कसहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पनि स्पर्धा गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij