दाङ । दाङमा एक व्यक्तिले रड प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे रड प्रहार गरी हत्या गरेका हुुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको थियो । पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेको प्रहरीले जनाएको छ । त्यस क्रममा स्थानीय मीना थापा र शिला चौधरी रड प्रहारबाट घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको जनाइएको छ । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
रुखबाट लडेर महिलको मृत्यु
रुखबाट लडेर तुलसीपुर–१३ बखरियाकी एक महिलाको मृत्यु भएको छ । शनिबार बेलुका घर नजिकैको जङ्गलमा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको हो । उनकी जेठी बुहारी पवित्रा कुसारीका अनुसार, बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली अबेरसम्म घर नआएपछि परिवार र छिमेकी जङ्गल खोज्न जाँदा घाइते अवस्थामा फेला पारेका थिए । तुलसीपुर सिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गर्दैगर्दा उनको मृत्यु भएको बताइएको छ ।