काठमाडौं । माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुुसार आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएका हुन् । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।
पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको थियो । उनीहरुको शव अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।