एनपीएलमा लुम्बिनीको धमाकेदार सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

एनपीएलमा लुम्बिनीको धमाकेदार सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • एनपीएलमा लुम्बिनीको धमाकेदार सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ। सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

    सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

    लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेखले ३२ रन बनाए। सर्ट र आसिफले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाएका थिए।

    निरोशन डिक्वेला ७ रनमा आउट भए। शमिम हुसेन १ र कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे। सुदूरपश्चिमका अनिल खरेलले २ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीको कसिलो बलिङसामु टिक्न सकेन। टोली १७ ओभर २ बलमा ८७ रनमै समेटियो।

    लुम्बिनीका किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट झारे। शाड्ली भान शाकवाइक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए।

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। सैफ जैबले १३, अनिल खरेलले अविजित १७ र विनोद भण्डारीले ९ रन जोडे। ब्रान्डन म्याकमुलेनले २, इशान पाण्डेले ७ तथा शेर्फन रदरफोर्डले १ रन बनाए। आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामीले खाता खोल्न सकेनन्।

    यस खेलसँगै एनपीएलमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिएको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले शेर मल्लको बलमा गरिएको एलबीडब्लु अपिल अस्वीकृत भएपछि डीआरएस लिएका थिए। तर, पुनरावलोकनबाट अम्पायरको निर्णय परिवर्तन भएन।

    गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणको पहिलो खेलमै सहज जित निकालेसँगै लुम्बिनीले उपाधि रक्षा अभियान प्रभावशाली रूपमा सुरु गरेको छ।

    एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज दिउँसो साढे १२ बजे भिड्नेछन्। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij