काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । पहिलो चरणमा पछि परेका लुलाले दोस्रो चरणको निर्वाचनमा ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।
बोल्सोनारो पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् । ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले ५१.८ प्रतिशत र बोल्सोनारोले ४८.२ प्रतिशत मत प्राप्त गरेका छन् । यससँगै सन् २०२७ देखि २०३० सम्म लुलाले ब्राजिलको नेतृत्व गर्नेछन् ।
पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि थिए । तर दोस्रो चरणमा लुलाले पुनरागमन जित हासिल गरेका हुन् । लुलाको विजयसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी राजनीतिमा दक्षिणपन्थी प्रभाव विस्तारको प्रयासलाई धक्का लागेको छ ।
निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा साओ पाउलोको पाउलिस्टा एभिन्युमा आइतबार साँझ सयौँ लुला समर्थक भेला भएका थिए । लुलाको विजयप्रति उत्साहित समर्थकहरूले निर्वाचनलाई लोकतन्त्रको जितका रूपमा व्याख्या गरेका छन् ।