काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी पाँच दिन पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ ।
आइतबार कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, मङ्गलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ । यस अवधिमा देशका अन्य हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्छ । यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाले आगामी तीन दिन र कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी नगरे पनि मौसमसम्बन्धी पछिल्ला सूचना तथा पूर्वानुमान नियमित रूपमा जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।