भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, तयारी पूरा

आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, तयारी पूरा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलिदेखि सुरु हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल भोलि बेलुकी ५ बजे सुरु हुनेछ ।

    यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । हक–आई प्रविधिमा आधारित यस प्रणालीमार्फत टोलीले अम्पायरको निर्णय पुनरावलोकन गर्न सक्नेछन् । प्रत्येक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा लिन पाउने व्यवस्था गरिएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा यसपटक चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहनेछ । यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रतियोगिताको स्तर बढाउने अपेक्षा गरिएको छ ।

    प्रतियोगितालाई थप व्यवस्थित र दर्शकमैत्री बनाउन त्रिवि मैदानमा पनि विभिन्न सुविधा थपिएका छन् । मैदानमा करिब दुई हजार थप दर्शक अट्ने सिट, छानासहितको दर्शकदीर्घा, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड र सञ्चारकर्मीका लागि मिडिया सेन्टर निर्माण गरिएको छ ।

    प्रतियोगिताका सबै ३२ खेल त्रिवि मैदानमै सञ्चालन हुनेछन् । सहभागी आठ टोलीमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज छन् ।

    लिग चरणमा प्रत्येक टोलीले अन्य सात टोलीसँग एक–एक खेल खेल्नेछन् । लिग चरणको समाप्तिपछि अंकतालिकाका शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij