काठमाडौं । म्याग्दीको फापरखेतमा फेरि पहिरो खसेपछि बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । एक हप्तापछि हिजो बिहान खुलेको सडक पुनः बन्द हुँदा पश्चिमी म्याग्दीका यात्रु समस्यामा परेका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार पहिरो खसेपछि बेनी–दरवाङ सडकखण्डमा सीधा यातायात सेवा अवरुद्ध भएको हो । रातको समयमा पहिरोको जोखिम बढी हुने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको उनले बताए ।
आज बिहान पहिरो पन्छाएर सडक खुलाउने काम गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेको थियो । पहिरोका कारण बन्द भएको सडक हिजो केही समयका लागि खुले पनि पुनः अवरुद्ध भएको हो ।
२४ किलोमिटर लामो बेनी–दरवाङ सडकले मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्छ । यस सडकलाई पश्चिमी म्याग्दीको प्रमुख आवागमन मार्गका रूपमा लिइन्छ ।
लगातार पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेकाले दशैँ मनाउन आउने–जाने यात्रुका साथै अन्य सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।