ख्वप (भक्तपुर), ६ कात्तिकः ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहित भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको छ। भक्तपुर नगरपालिका-७ गोमारीको यातामा आयोजित सम्मेलनमा उल्लेख्य जनसहभागिता रहेको छ।
सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले बिहीबार बिहान उद्घाटन गरेको सम्मेलन राति ११ बजेसम्म सञ्चालन हुनेछ। सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचनका साथै नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धनमा योगदान दिँदै आएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको यस सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मातृभाषामा लेख्न, सिर्जना गर्न र प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ।
सम्मेलनमा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुनेछ। परम्पराअनुसार दिउँसो साहित्यिक र साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई पनि स्थान दिइन्छ। प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका कवि, लेखक तथा कलाकारलाई प्रोत्साहन गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको छ।
सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिए।