सात दिनको सास्तीपछि खुल्यो पश्चिम म्याग्दीको ‘लाइफलाइन’

सात दिनको सास्तीपछि खुल्यो पश्चिम म्याग्दीको ‘लाइफलाइन’

शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • सात दिनको सास्तीपछि खुल्यो पश्चिम म्याग्दीको ‘लाइफलाइन’

    म्याग्दी, ६ कात्तिक । पहिरोका कारण एक सातादेखि बन्द रहेको म्याग्दीको बेनी-दरवाङ सडक सञ्चालनमा आएको छ। सडक खुलेसँगै जिल्लाको पश्चिमी क्षेत्रका तीन स्थानीय तहका बासिन्दालाई सदरमुकाम बेनी बजार आवतजावत गर्न सहज भएको छ।

    बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानास्थित फापरखेतमा असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि आजदेखि यातायात सञ्चालनमा आएको हो।

    सडकमा पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेका अनुसार दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर सडक खुलाउने प्रयास गरिए पनि लगातार पहिरो खसिरहेकाले समय लागेको हो।

    उनले तत्कालका लागि सडक खुलाइए पनि यसको दिगो समाधानका लागि थप काम गर्न बाँकी रहेको बताए। दसैँको चहलपहल सकिएपछि पहिरो नियन्त्रणसम्बन्धी बाँकी काम पूरा गरी सडकलाई भरपर्दो र जोखिमरहित बनाउने योजना रहेको उनले जानकारी दिए।

    कुल २४ किलोमिटर लामो बेनी–दरवाङ सडक म्याग्दीको मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो। यसलाई पश्चिम म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिइन्छ।

    सडक अवरुद्ध हुँदा दसैँ मनाउन जन्मथलो जाने र पर्वपछि कार्यक्षेत्र फर्कने यात्रु समस्यामा परेका थिए। तत्कालका लागि सडक सञ्चालनमा आएसँगै उनीहरूलाई आवतजावतमा राहत मिलेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij