बाढी प्रभावित मध्य कालीगण्डकी आयोजनाको अवलोकनपछि चन्द्र ढकालले भने– ‘सामूहिक संकल्प र आत्मबल बलियो छ’

बाढी प्रभावित मध्य कालीगण्डकी आयोजनाको अवलोकनपछि चन्द्र ढकालले भने– ‘सामूहिक संकल्प र आत्मबल बलियो छ’

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • बाढी प्रभावित मध्य कालीगण्डकी आयोजनाको अवलोकनपछि चन्द्र ढकालले भने– ‘सामूहिक संकल्प र आत्मबल बलियो छ’

    काठमाडौं । आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

    कालीगण्डकी नदीमा हालै आएको भीषण बाढीले आयोजनासहित आसपासका सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पुर्‍याएको क्षतिको अवलोकनपछि ढकालले विपत्तिको सामना गर्न सामूहिक संकल्प र आत्मबल बलियो रहेको बताएका छन् ।

    उनले बाढीबाट प्रभावित क्षेत्रको अवस्थाले आफूलाई भावुक र स्तब्ध बनाएको उल्लेख गर्दै प्रकृतिको विशाल रूपअगाडि मानिस कति निरीह हुन्छ भन्ने अनुभूति भएको बताएका छन् ।

    विपत्तिका बीच पनि अवरुद्ध सडक, भत्किएका पुल तथा अन्य संरचनाको पुनर्निर्माण र मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको देख्दा आशा र ढाडस मिलेको उनको भनाइ छ । विशेषगरी अवरुद्ध बेनी–जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनुलाई उनले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

    सडक सञ्चालनमा आएसँगै स्थानीय बासिन्दा, यात्रु तथा सामान ढुवानीमा सहजता आएको र मुक्तिनाथ दर्शनका लागि जाने दर्शनार्थी तथा जोमसोम, लोमान्थाङ र कोरला नाकासम्म पुग्ने पर्यटकलाई राहत मिलेको उनले उल्लेख गरेका छन् ।

    ढकालले विपद् व्यवस्थापन, सडक पुनःस्थापना र राहत कार्यमा सक्रियता देखाएको भन्दै नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तहप्रति आभार व्यक्त गरेका छन् । सडक पुनः सञ्चालनका लागि अहोरात्र खटिएका सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक तथा कर्मचारी र सुरक्षा निकायका सदस्यहरूको योगदानको पनि उनले प्रशंसा गरेका छन् ।

    बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित परिवार तथा समुदायप्रति समवेदना व्यक्त गरेका छन् ।

    भौतिक क्षति ठूलो भए पनि सामूहिक प्रयास, समन्वय र सहकार्यबाट संकट पार गर्दै प्रभावित क्षेत्रको पुनरुत्थान गर्न सकिने विश्वास व्यक्त गर्दै ढकालले विपत्तिपछिको पुनर्निर्माणमा सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij