बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

    काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ ।

    धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिइन् ।

    गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो । असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो ।

    दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुन्यप्रसाद ९सरोज० सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताउँछन् ।

    “दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ,” उनले भने । दसैँ मनाउनका लागि असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् । 

    नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij