बागमतीमा एमाले नेतृत्वमा नयाँ सरकार, राप्रपाको समर्थनमा किरण थापा मुख्यमन्त्री बन्दै

बागमतीमा एमाले नेतृत्वमा नयाँ सरकार, राप्रपाको समर्थनमा किरण थापा मुख्यमन्त्री बन्दै

बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • बागमतीमा एमाले नेतृत्वमा नयाँ सरकार, राप्रपाको समर्थनमा किरण थापा मुख्यमन्त्री बन्दै

    काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा समर्थन गर्ने भएपछि एमालेका सांसद किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

    नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापाले ६३ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

    मुख्यमन्त्रीमा दाबी पेस गर्दा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गरेका छन्।

    १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले, नेकपा र राप्रपाका गरी ६३ सांसदको समर्थन रहेकाले थापाको नेतृत्वमा सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी समर्थन जुटेको छ।

    यसअघि राप्रपाले सरकारमा सहभागी नहुने बताउँदै आएको थियो। अहिले पनि राप्रपा तत्काल सरकारमा सहभागी नहुने र बाहिरै बसेर सरकारलाई समर्थन गर्ने तयारीमा रहेको बताइएको छ। सरकार गठनबारे आवश्यक निर्णय गर्ने जिम्मेवारी भने राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो।

    केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भए पनि एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयनमा विवाद हुँदा सरकार गठन प्रक्रिया केही समय अलमलिएको थियो। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेतामा कायमै राख्दै किरण थापामगरलाई मुख्यमन्त्रीमा अघि बढाउने सहमति गरेपछि सरकार गठनको बाटो खुलेको हो।

    यसअघि नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन्।

    प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

    एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। सरकार जोगाउन उनले राप्रपा, हाम्रो नेपाली पार्टी र नेमकिपाको समर्थन जुटाउने प्रयास गरे पनि आवश्यक बहुमत नपुग्ने भएपछि राजीनामा दिएका थिए।

    अब एमाले, नेकपा र राप्रपाको समर्थनमा किरण थापामगरको नेतृत्वमा बागमती प्रदेशमा नयाँ सरकार गठन हुने निश्चित भएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij