काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारी राजश्व सङ्कलनमा उत्साहजनक वृद्धि देखिएको छ । गत साउन महिनामा सरकारको कुल आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशत अर्थात् ८ अर्ब २४ करोड रुपैयाँले बढी हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन महिनामा कर राजश्वबाट ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ र गैरकर राजश्वबाट ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ सङ्कलन भएको छ । यस अवधिमा सरकारले २४ करोड ३ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता पनि प्राप्त गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । पहिलो महिनामै राजश्व सङ्कलनमा देखिएको वृद्धि वार्षिक लक्ष्य हासिल गर्ने दिशामा सकारात्मक सङ्केतका रूपमा हेरिएको छ ।
यता, चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारको कुल बजेट खर्च ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । यो रकम वार्षिक बजेट विनियोजनको १.९७ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।
खर्चतर्फ चालु शीर्षकमा २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ, जुन यस शीर्षकमा विनियोजित रकमको १.६८ प्रतिशत हो । चालु शीर्षकमा सरकारले १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ ।
पुँजीगत खर्च भने साउन महिनामा निकै न्यून देखिएको छ । चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको पुँजीगत शीर्षकमा साउन मसान्तसम्म केवल ०.३१ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
वित्तीय व्यवस्थातर्फ भने साउन मसान्तसम्म १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ, जुन यस शीर्षकमा वार्षिक विनियोजनको ४.५३ प्रतिशत बराबर हो ।
सरकारको आम्दानीतर्फ पहिलो महिनामै उल्लेख्य सुधार देखिए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्चको गति भने अझै सुस्त रहेको तथ्याङ्कले देखाएको छ ।